एकपटक अपरिचित गाउँमा पुगेका एक जना सज्जनलाई देखेर एउटा घरमा पालिएको सुगाले भनेछ- 'गाउँले हो ! नयाँ मान्छे आयो लुटलुट ।'
सज्जन त्यहाँबाट भागेर एउटा आश्रममा
पुगेछन् । त्यहाँ पनि त्यस्तै एउटा सुगा पालिएको रहेछ । उसले भनेछ-
'आउनुहोस् महाशय ! तपाईंलाई स्वागत छ, भन्नुहोस् के सेवा गरौं ।'
सज्जनले आश्चर्य मान्दै आश्रमका महन्तलाई सोधेछन्- 'महाशय ! एउटै प्रजातिका प्राणीमा यी विपरीत गुण
कसरी ? यसको रहस्य जान्न सक्छु ?'
महन्तले भनेछन्- 'यी दुई सुगा एउटै प्रजातिका मात्र होइनन्, एउटै आमाका
सन्तान हुन्् तर सानैदेखि एउटालाई डाकुहरूले लगेर पालेका थिए भने
अर्कोर्चाहिँ आश्रममा पालिएको थियो । डाकुहरूले पालेकाले त्यही भन्यो, जुन
उसले सानैदेखि सुन्दै आएको थियो । आश्रममा पालिएकोले पनि त्यही भन्यो, जुन
उसले सानैदेखि सुन्दै आएको थियो ।'
सार हो, जहाँ पनि सङ्गतको फल यस्तै
हुन्छ । ंजस्ताको सङ्गत गरिन्छ, त्यस्तै बन्न वाध्य भइन्छ । यसमा आनाकानी
गरिएमा व्यवहार नै चल्दैन । उखान नै छ- सङ्गत गुनाको फल ।
सङ्गतले कालोलाई सेतो बनाउन सक्छ ।
सेतोलाई कालो बनाइदिन पनि सक्छ । प्रकाशको सङ्गत पाउँदा निस्पट्ट अँध्यारो
पनि उज्यालो बन्न पुग्छ । दुर्दिनको सङ्गतले दिनलाई पनि अँध्यारो बनाइदिन्छ
। सज्जनको सङ्गतमा पर्दा दुर्जन पनि सज्जन बन्न पुग्छ । दुर्जनको सङ्गतमा
परे सज्जनले पनि दुर्जनजस्तै बन्न पर्छ ।
अर्को प्रसङ्ग, एकपटक सज्जन र दुर्जन
चौतारामा आराम गर्न बसेछन् । दुर्जनले पीपलको रूखलाई देखाएर सोधेछ- 'यो के
को रूख हो ?' सज्जनले उत्तर दिएछन्- 'पीपलको ।' दुर्जनले भनेछ- 'होइन
पलासको ।' यसमा उनीहरूबीच ठूलै विवाद परेछ । अन्त्यमा दुर्जनले कसेर दुई
मुक्का दिएछ । मूर्खदेखि दैव डराउँछ ! बिचरा सज्जन 'ठीकै हो भाइ ! तिमीले
भनेको यो पलासकै रूख हो' भनेर हिँडेछन् ।
बुद्धको सङ्गत पाउँदा अङ्गुलीमाल पनि
प्रबुद्ध बनेका थिए । कंसको सङ्गतले अक्रूरलाई पनि क्रूर बनाएको थियो ।
दुर्योधनको सङ्गतले भीष्मलाई पनि दूषित बनाएको थियो राम, कृष्णको सङ्गतले
शवरी र कुविजाहरू प्रशोधित हुन पुगेका थिए । आगोको सङ्गतले पानीलाई पनि
आगोजस्तै तातो बनाइदिन्छ । पानीको सङ्गतमा आगोले पनि पानीजस्तै चिसो बन्न
पुग्छ । एउटै कीरो फूलको सङ्गत पाए देवताको शिरमा चढ्दछ । फोहोरको सङ्गतमा
परे नालीमा सड्छ ।
प्रकृतिको नियम नै यस्तै छ । सकेसम्म
सबै अरूलाई आफू अनुकूल बनाउन खोज्दछन् नसके आफू अरूको अनुकूल बन्न पुग्दछन्
। तपाईं शक्तिशाली हुनुहुन्छ भने आˆनो सङ्गतमा आउने सबैलाई आफैँ अनुकूल
बनाइदिनुहुन्छ । होइन कमजोर हुनुहुन्छ भने जसको सङ्गतमा हुनुहुन्छ त्यही
अनुकूल बन्नुपर्छ । संसारमा अनादिकालदेखि चल्दै आएको यो नियम अनन्तकालसम्म
पनि चलि नै रहन्छ । चाहे मानिसको होस्, चाहे पशुपक्षी वा वनस्पति हरेकको
अन्तर सङ्घर्षमा जो विजयी हुन्छ उसैको सत्ता स्थायी हुन्छ । पराजित हुनेले
कि आफूलाई समाप्त गर्न पर्छ कि विजयी हुनेले भन्ने गरेका मूलधारमा समाहित
हुनुपर्छ । हामीले देखेका छौं, हिजो स्याउ फल्ने स्थानमा आज सुन्तला फल्न
थालेका छन् । सुन्तला फल्ने स्थान भोगटेले लिएका छन् । आखिर किन ? कहाँ गए
तत्तत् स्थानका स्याउ र सुन्तला ? यसको उत्तर यही हो, उनीहरूलाई विस्थापित
गर्ने तिनै सुन्तला र भोगटेमा समाहित भइसके, जसरी समुद्रमा मिसिएपछि
नदीहरूको अवस्था हुने गर्दछ ।
तपाईं कता जाने ? तल जाने कि माथि ?
तपाईंकै सङ्गतमा भर पर्छ । तपाईंले चाहनु भयो भने आफूलाई बदल्न त सक्नुहोला
तर सङ्गतको प्रभावलाई बदल्न भने सक्नुहुन्न । एकपटक भेँडालाई खेद्दै आएकी
गर्भिणी सिंहले भेँडाकै बथानमा बच्चा जन्माइछ । आˆनो बथानमा जन्मेकाले
उसलाई भेँडाहरूले नै हुर्काएछन् । भेँडाको बथानमा हुर्केकोले ऊ आफूलाई पनि
भेँडा नै ठान्दो रहेछ र भेँडाको जस्तै व्यवहार गर्दो रहेछ । यत्तिकैमा
एकदिन सिंहले भेँडाको बथानमा आक्रमण गरेछ तर त्यतिबेला सिंहको बच्चो पनि
भेँडासँगै भाग्दो रहेछ । त्यो देखेर सिंहले आश्चर्य मान्दै भनेछ- 'ओ भाइ !
तिमी त हाम्रै जातिका हौ । फेरि किन भागिरहेका छौ ?' उसले उत्तर दिएछ-
'कसले भन्छ मलाई तपाईंको प्रजातिको भनेर ? म त भेँडाको प्रजातिको हुँ
बुझ्नुभो ?' बिचरा सिंह हेरेको हेर्यै भएछ । यो पनि सङ्गतकै फल हो ।
( स्रोत: युवामंच साउन २०६८, कमल रिजाल )